काठमाडौँ आउन पनि गाह्रो, आइसकेपछि निस्किन पनि गाह्रो

Long Default Ad 1200x105
sapta koshi cement

हाइवेको होटेलको हर्कतदेखी बसका बिचौलियासम्म उर्फ!

काठमाडौँदेखि धनगढीको यात्रामा छौँ। अग्रिम बुकिङ गरिएको खप्तड यातायातको बसको नम्बर ना २ ख ८४९५ हो । मानौँ पश्चिमको लागि यही एक बस हो झैँ लाग्ने गरी यात्रुहरू खचाखच छन् । कसैलाई कसैको प्रवाह छैन । मानिसहरूलाई घर जाने हतार छ । नहोस् पनि किन यति बेला नै हो घर जाने। अरू बेला त बिदा पनि हुन पर्यो।

मेरा लागि चाडबाडको बिदाभन्दा पनि पारिवारिक यात्रा थियो। मेरो आफ्नै परिवार नै १६ जना थियौँ। लगभगै जन्तीजस्तो। एउटा गाडीभरि एउटै परिवारजस्तो। एकातिर परदेशिनु पर्ने बाध्यता, अर्कोतिर प्रविधिको विकास र बिलाशीलताका मोहले परिवारका सदस्यहरू दिनानुदिन एक्लिँदै र झन् झन् दूर बन्दै गएको बेला यतिका सङ्ख्यामा पारिवारिक यात्रा हुनु सायद अरू बेला भन्दा केही न केही त भिन्न लाग्छ।  रौनक र खुशी भई नै हाल्छ।

यात्रु आइपुग्नु पर्ने समय ३ः३० बजे र गाडी छुट्ने ४ः०० बजे भनी टिकटमा लेखिएको छ। तर, “नेपालको कानुन आफै–आफै जानुन्“ भनेझैँ कुनै पनि काम समयमा सुरु नहुनु, ढिलो हुनु त हामी नेपाली सबभन्दा ठूलो संस्कृति बनेको छ। थप, ठूलो सङ्ख्याले मान्ने चाड र अरू बेलाभन्दा अलिकति लामो बिदा पाइने समयको छेक पारेर पनि होला गतिविधि यात्रुहरूका चाप भएको।

'ओए! ढोका बन्द गर् ।’

लामा लामा कपाल भएका गुरु जीको आदेश पालना गर्दै आधा शरीर देखिने गरी खस्नै लागेको पाइन्ट लगाएका खलासीले ढोका बन्द गरे। चालकले कपाल पाल्नु, रुमाल बाँध्नु,  अश्लील बोल्नु र खलासीले पाइन्ट झुण्डाएर लाउनु यो पेशामा आबद्धहरूको एउटा संस्कृति नै हो। जस्तो अहिले मन्त्री बने? की रामकुमारी झाँक्री हुन वा अरू नेता वा मन्त्री बन्न हिजो ढुङ्गा बर्साएकै हुनुपर्ने, जेल परेकै हुनुपर्ने जस्तो। बसपार्कमा रङ्गीबिरङ्गी यात्रुहरूका इन्द्रेणीका रङ्गजस्तै आआफ्नै गन्तव्यमा पुग्ने भिडभाडलाई छिचोल्दै गाडीले  बल्लतल्ल ४ः३१ बजे मात्रै पाङ्ग्रा घुमायो नयाँ बसपार्क छोड्ने तरखरमा।

परदेशिएकाहरूले अरबको घामलाई कसरी खेपेका छन् कुन्नि तर, यता बसपार्कमा भने यात्रुहरूको कोलाहल र चिच्याहट साथै त्यो प्रचण्ड घाम कसले सहन सकोस्।  तर, सहनै पर्ने हुन्छ। शरदको यो सुकिलो मौसममा पनि पसिनै पसिना। कहिलेकाहीँ त प्रकृति पनि तानासाहीजस्तो लाग्छ।

“मिलेर बस्नोस्“ भनेर केवल खलासीले भन्छ। कति जनासम्म मिल्न सक्छन् यो उनीहरूको लेखाजोखामा पर्दैन। बस् गाडीको गाला पिट्यो, यात्रु चढायो। जतिसुकै लामो दूरीको यातायात होस् बसपार्कदेखि कलङ्कीसम्म पुग्दासम्म यात्रुहरू चढाउने काम निरन्तर चलिरहेछ।

मेरो सिट नम्बर १५/१६ क साइडको हो। म झ्यालतिरको सिटमा छु। यता बस्नु विलासिताभन्दा पनि मेरो बाध्यता हो त्यहाँ बस्नै पर्ने। किन कि मलाई ’गाडी लाग्छ।’ गाडीमा गुडेपछि. वान्ता हुन थाल्छ।  झ्यालतिर बसेपछि बान्ता आउँदा मुख बाहिर निकालेर फ्याँक्न सजिलो हुन्छ।

गाडी लाग्ने पीडा भन्दा पनि मेरो मनको मनोवादले मलाई छोडेको छैन। म निरन्तर मनोवाद गरिरहेको छु कसरी पुग्ने?  कहिले पुग्ने? पुगे पनि कसरी फर्किने? काममा जाऊँ करिअरको, यात्रा गर्दा गन्तव्यको लगायत यस्ता दर्जनौँ प्रश्नको उत्तर खोजिरहेको छु। तर, उत्तर भेट्दिनँ मैले ।

यतिकैमा ठूलो भ¥याङमा एक जना अपरिचित आए। उनको सिट उता रहिछ। उनले मेरो नजिकको सिट होइन भने। हुन त बस भित्रका बिचौलियाको को कुरा गर्न सकोस् । एकै सिटका लागि दुई तिन जनाको टिकट काट्न पनि पछि पर्दैनन्। यिनीहरूका बोली सुन्दा त झन् दिमाग रन्न भएर आउँछ। आनाकानी गरे। तर उनी त्यही सिटमा बस्न राजी भए। जिन्सको पाइन्टमाथि जिन्सकै जकेट कालो वर्ण,  छुस्स दारी त्यसैमाथि कालो मास्क लगाएका छन्। ती अपरिचित खाइरहेका छन् तर मलाई भने रिस उठिरहेको छ। भन्न मन छ “कति खाएको हो यार!“  तर..................

उनको गन्तव्य कता हो त्यो त मलाई थाहा छैन तर हामी एकै सिटका एउटै यात्राका यात्री जरुर हौँ। जीवन पनि त यात्रा नै हो। उनी कानमा हेडफोन कोचेर मोबाइलमा हिन्दी मुभी हेर्नमा मस्त छन्। म भने गाडीमा कुन बेला वान्ता गर्छु, नजाने झ्याल बाहिर मुन्टो निकाल्न भ्याउँछु भ्याउन्न थाहा छैन। तर, पर्खाइमा छु।

सपना र करिअरको खोजीमा राजधानी छिरेकाहरू सपना साकार वा करिअर विकास गरेर थानकोट कट्न वा थानकोटको उकालो चढ्न निकै सकस हुन्छ। यसपालिको मेरो यात्रा थानकोटको उकालोमा टथस्थ छ। गाडीको पाङ्ग्राले एक फन्को लगाएको छैन। मतलब गाडीमा बसेको दुई घण्टा बढी हुँदा पनि काठमाडौँ छोड्न सकिएको छैन। छोड्न नसक्नु काठमाडौँप्रतिको प्यार हो या राज्यको शासन व्यवस्थाको ऐना।

विमानस्थलतिर नवजोडीहरू छुट्न गाह्रो भएजस्तै हामीलाई जामका कारण काठमाडौँसँग छुट्न गाह्रो भइरहेको थियो। काठमाडौँ यस्तै छ यो ठाउँमा आउन पनि गाह्रो छ, आइसकेपछि निस्किन गाह्रो छ। करिब ६ः५० भई सक्यो। बल्लतल्ल पुगेको धादिङको जामको त झन् के कुरा गर्नु। भित्र यात्रु गर्मीले पाकिसके। तर गाडी एक डेग चल्ने होइन। भित्र बस्दा बस्दा दिक्क लाग्ने तर बस्नुको अर्को विकल्प पनि छैन। गाडी कमिलाको ताती जस्तै छामो लाइनमा छन्। यो सकसपूर्ण यात्रा करिब १००० किलोमिटर दूरको हो।

यात्रा प्रारम्भ भएको हो २०७८ असोज २२ गते दिनको ४ बजे। गाडीभित्र जति छौँ पीडा,  गर्मी,  यात्रा एउटै हो तर गन्तव्य फरक छ। जिन्दगीको आरोह अवरोहमा यात्री आए तर सबैको फरक गन्तव्य नै हो।

ताल न बेतालका गीतले मन पनि बेसुरमा बगिराखेको छ। कहिले हिन्दी,  कहिले नेपाली गीत, सुदूरको सकस यात्रा हो बेलाबेला देउडाको पाइला झम्म झम्म भई रहने। दैनिक कामको भाग दौडले गलेको शरीर, गाडीभित्र गुम्सिँदा पनि म त पुरै निन्द्रामा पुगेछु। सङ्गीत आनन्दको खजाना हो। जति बेसुरका हुन् म्युजिकका कुनै न कुनै बिटले छुँदो हो र त निदाएँ मस्त।

यति जाम कि त्यो भन्नै नसकिने छ। गीतका गुन्जनसँगै  यात्रुहरू आफ्नै ध्यानमा तल्लीन छन्। हुन त अरुको बारेमा सोच्नलाई मजस्ता बकम्फुसे हुन् र? भित्रभित्रै धेरै मडारिएँ,  गाडीभित्रै यसो आफूबाहेकको अवस्था बुझ्न।  मेरा अपरिचित मित्र भने फेरि मोबाइलमा पब्जिमा,  यसो चिहाएको अझै त्यसैमा गोडमेल गरिराखेका छन्। हुन त, उनी यस युगको पुरुष हो, उसको पुरै दिल दिमाग मोबाइलमा हुनु के ठूलो कुरा हो र। आई फोन वा ग्यालेक्सी मोबाइल नहुनु, पब्जी, क्याण्डी क्रसजस्ता खेल नखेल्नु, यति बेला यी कुरा नगरिए नभए मान्छे हुँ भन्ने प्रमाण नै मेटिएला जस्तो भई सक्यो। मतलब मानिसहरू प्रविधिमुखी बने। प्रविधिले मान्छेलाई आफ्नो कब्जामा पारिसक्यो।

उर्फ! कति गर्मी त्यसैमा अनि त्यसैमा जाम। अहिलेसम्म त भुङ्ग्रोमा हालेको मकै पनि कालो भई सक्थ्यो डढेर। म नि त्यस्तै हुन्छु होला। अँ, काठमाडौँबाट घर पुग्दा अलिकति रहन्छ त्यो सेतो त्वचा त्यसपछि फेरि गाउँकै अर्ग्यानिक बन्छु। तर म जहिल्यै जहाँ पुगूँ मजस्तै रहन सकूँ। मलाई कालो र गोरोले कहिल्यै फरक नपारोस्। सेतो रङ्ग नै सर्वप्रिय मान्ने र सेतै रङ्गमा टेकेर छेपारोले रङ्ग फेरेझैँ मान्छेहरूले नियत फेर्ने समय हो यो। बच्नु छ यो रङ्गिन बजारिया समयसँग।

अहिले रातिको ८ः४६ भैसकेको छ। मस्त सुत्ने बेलामा खाजा रे!  हाइ,  हाइ! धादिङको नौबिसेमा “आँधिखोला खाजा घर“ चालीसे लेखिएको छ। खाजा के थाहा छ?  रोटी तरकारी । मूल्य भनूँ २५० मात्र। यो हाइवेको होटेलको हैकम पनि गणना नगरी सक्नु छ।  एउटा सानो बोतल चिसोको सिधै १०० हो। त्यहाँभन्दा कम मूल्यमा त केही पाउने नसोचे पनि हुन्छ। खाना खाने बेला खाजा रे हैट! हुन त नेपालीको पेटमा जे हाले पनि हुन्छ।

नवलपरासीको गैँडाकोटमा छु।  रातको एक बजेको छ बल्ल यति बेला खाना खाऔँ भनी खलासीले घाँटी फुलाउँदै छन्। खै! खाना उसको लागि खामे हो कि हाम्रो लागि होटेलका स्टाफहरूले उस्तै कर गरिरहेछन्।  ’होटेल छाप्रो’ गैँडाकोट -९ थुम्सि लेखिएको साइनबोर्ड छ। प्राय गाडीको खाना खाने सेन्टर रहिछ। हुन त यी पनि एक किसिमको च्यानल हो। जुन होटेलमा गाडीवालाको च्यानल छ,  त्यसैमा यात्रीलाई खानै पर्छ। हुन्छ हुन्न भन्ने तर्क गर्न पाइन्न। खाना हैन, खाने विवस्ता हो,  बाध्यता हो। खाए खाऊ नखाए घिच जस्तो अवस्था छ। लामो यात्रा खाना अवश्य खानु नै छ। हाम्रो रोजाइको खाना पाइने होटेलमा त चालकले रोकिदिनु प¥यो नि। च्यानल हो, सिण्डिकेट हो यो पनि। साधा खानाको ३०० मात्र। कुपन लियो,  खानाको लाइनमा बस्यो, आफैँ पस्कियो। सायद,  यति महँगो खाना त थकाली भान्छा घरतिर चौरासी व्यञ्जन खाँदा पनि हुन्न होला। जहाँ बिहे भोज खानेजस्तो ठाउँमा मीठो गुणस्तर त सम्झिने मात्र हो।

“जसले झ्याल खोल्छ पाँच सय जरिवाना है।"

राती यात्रुहरू मस्त निदाइरहेका हुन्छन्। बेलाबेला सहचालक आएर झ्याल बन्द गर्नु भनेर यसोरी नै कर्कश आवाज निकालिरहन्छ। देशमा दण्ड जरिवाना न्याय अन्याय कुन तहमा छ तर ऊ आफ्नो फैसला सुनाउँछ। खै! कतिलाई जरिवाना तिरायो बोला आजसम्म।  तर, मलाई भने वान्ताले गर्दा झ्याल खोल्नु पर्ने।

“वान्ता हुन्छ झ्याल त खोल्नुपर्यो।"

मलाई पनि रिस उठ्यो, भनिहालेँ। समय यस्तो छ आफ्नो समस्या आफैँ राख्ने हो। आफ्नो ओछ्यानमा पानी पसे आफैँले ओछ्यान सार्ने वा उठ्ने हो। उसको जरिवानाको कब्जामा बसेर आफूलाई चुप राख्ने पनि त हैन। मलाई समस्या छ म बोलेँ। बोल्नुपर्छ। उत्पीडनमा परेका, सीमान्तकृत वर्ग समुदाय बोल्नु पर्ने समय यही बेला आएको छ। वान्ता होला नहोला, कामना त नहोस् भन्ने नै हो। तर आफूलाई त्यही समस्या छ भने पहिल्यै जानकारी गराउनु पनि पर्छ।

“एसी लगाएको भएर होला झ्याल बन्द गर्नु भनेका।"

धन्य भएँ पब्जि माथि घोप्टिएतकोो उसको ध्यानबाट ब्युँझाए। कम्तीमा एक वाक्य मानवको लागि खर्चियो।

ती अपरिचितको यात्री वाक्य फुट्यो। मानौँ उसले मलाई सिकाइरहेछ एसी चल्दा के गर्ने र नगर्ने भनी। मैले बोलेको समस्यामा उसको पनि ध्यान गएन। एसीको बारेमा ऊ खुब जानेको देखियो र मैले नजानेको। यस्तै हो हामी हामी आफूलाई सधैँ जान्ने तहमा राख्छौँ। मैले पनि मनमनै “ए“ मात्र भनेँ तर आवाजमा होइन।

सकसपूर्ण एउटा दिन ढल्यो। यात्राबाट, आफ्नो आयुबाट।

“बाइ बाइ २२ गते।"

आज २३ गते बिहानको ७ः ५१ बजे प्युठान स्टाफ होटेल शिवराज–१ बन कस कपिलवस्तुमा छु। यहाँ खाजा खाने ठाउँ रहेछ।  बाटोको होटेल त्यो पनि एक मात्र होटेल भएको ठाउँ। यति भईकन पनि न राम्रो पानी, न गतिलो वास रुम। तर यात्रुहरूको खचाखच उही। महिला पुरुषको शौचालय एउटैमा। हुन त राग मार्गमा मैले याद गर्न सेकसम्मका कहीँ महिला मैत्री शौचालय देखिनँ। न कुनै स्यानिटरी प्याड फाल्ने व्यवस्था छ। शौचालयको झ्यालतिर वा कुनाकाप्चामा प्याड जताततै कोचेका छन्। हस्, हस् गन्हाउने। रातीको यात्रा,  जाम र गर्मीबिच पनि म त सुतेछु। हुन त म दायाँ बायाँ हेरेर रमाइलो गर्न पनि मन छैन। दाइहरू त रमाइलो गरिरहेका छन्। तर,  म भने कति बेला ओर्लेर जिन्दगीभर यो बसको नजिक पर्दिन लागेको छ।

बाँकेको ढकेरिमा खाना दिउँसोको १ः४० बजे मात्र खाना खायौँ।  खानाको मूल्यको के कुरा उहीँ लुटतन्त्र नै छ। सादा खानाको मात्र ३०० छ। “खाए खाऊ नखाए घिच“ भनेजस्तो हो। साँच्चिकै यही चरितार्थ भएको छ। त्यसपछिको जाम, खाना खाएर होला मस्त निन्द्रा लाग्यो एक छिन्। यति सकसपूर्ण यात्रा छ। सजिलो छैन सुदूर पुग्न राजधानीबाट ।

जति जति आफ्नो ठाउँ नजिक हुँदै छु, निकुञ्जका चराचुरुङ्गीको गुनगुन आवाजले मनलाई शान्ति दिन्छ,  लाग्छ सबै दुख भुल्नेजस्तै। ती आवाज वर्षौँदेखिका परिचितको जस्तो, बाटोको हरियालीले मन नै लोभ्याउने, आँगनजस्तो। लामो श्वास आएजस्तो, यसैले भनियो होला । 

“जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी!’ र भनियो होला वनको चरी वनमै रमाउँछ। सुदूर होस्, यात्रा सकसपूर्ण होस्, विकासमा पछि नै होस् तर आफ्नो भनेको आफ्नै हो।

२६ घण्टाको लामो यात्रा पछि अत्तरिया गोधुली साँझको ६ः२० बजे म आइपुगियो। अब हाई यस चढ्नु छ। साँझ यही बस्ने की गाडी पाए हिँड्ने टुङ्गो लागेको छैन।

अत्तरिया आइपुग्दा पब्जीवाला यात्रु आफ्नो गन्तव्यको लागि निस्किए। खलासीले अत्तरिया भनेर गाडीको गाला पिटेपछि झल्याँस्स ब्युँझिएका हुन्। मानौँ उसले नसम्झाउँदो हो त ती यात्रु यात्रा गर्दै कतै पबजीकै देश पुग्थे होलान्। प्रविधिले हामीलाई यसोरी खिच्यो कि अब हामी त्यो डोरी चुँडाल्न नसक्ने भई सक्यौँ। प्रविधिले निल्यो, जित्यो मान्छेलाई। यतिका लामो यात्रामा न उसलाई भोक छ न उसलाई छेउमा रहेकाहरूलाई केही सहज असहजको पत्ता छ। बस् मोबाइलमा पावर बैङ्कबाट तार जोड्छ बेला बेला।

“मार्तडीसम्म हैन त? ल हुन्छ–हुन्छ,  ढुक्क हुनुहोस्।"

हामीले यताउति फोन घुमायौँ। चारैतिरको कुराकानीले बल्ल एउटा हाइस भेटियो। मुस्किलले मनाइयो, सहमति भयो। उसले हुन्छ भनेपछि ढुक्कको श्वास फे¥यौँ किनकि  घर जानू छ जसरी पनि। भोलिपल्टको नियमित गाडी पर्खनु भनेको होटेलमा बस्नु हो। फेरि टिम सानो छैन। होटेलहरू जहाँका हुन् राजमार्गले छोएपछि महँगो हुनु स्वाभाविक हो अझ्झ दसैँको नजिक। यति बेला गाडी र होटेलवालाहरूको सिजन हो। सत्य यो पनि हो, हरेक व्यावसायिक व्यक्तिले अवसर पर्खिरहेका हुन्छन्। कोरोनापछिको चहलपहल, व्यावसायिक व्यक्तिहरू एक दुई गरेर त्यो समयलाई कभर गर्न खोजिरहेछन्।

हाइसमा छु,  त्यहाँबाट बल्ल मार्तडीतर्फको यात्रा सुरु भएको छ। साँझ ७ः५२ बजे अत्तरियाबाट छुटेपछि हाइसमा बाजुरासम्मको यात्रामा। बिलकुल पारिवारिक यात्रा हो। कताकति लाग्छ हामी पारिवारिक भ्रमणमा छौँ। त्यस्तो मौका सायदै मिल्छ जीवनमा।

हामी २६ गते नै फर्किने भनेर धनगढीमा चिनेको एक जना अर्जुन बानिया नाम गरेका व्यक्तिलाई टिकट रोकिदिनु भनेर भनेका थियौँ। तर यताको गाडी भने ४ बजे यात्रुहरू पाएर छुटिसकेको थियो। हामीसँग वाचा गरेर अरू यात्री पाएकोमा गाडी छुट्नु न्यायिक हैन तर के गर्नु। यहाँ हरेकलाई आफ्नो मात्रै हेर्नु छ। मानिसहरू स्वार्थी छन्। बस् आफ्नो फाइदा भए पुग्यो। सँगै जिउने मर्ने कसम खाएका, आफू समान छोरा छोरी भएका जोडीहरूका सम्बन्ध टुटेका छन्। जोसँग वाचा गरेका हौँ उसैसँग बाँधिन हामीलाई किन समस्या लागेको छ? व्यवसायमा लागेपछि वाचाहरू पाखा लाग्दा रहेछन्। किनकि उसलाई नाफा कमाउनु छ।

गोदावरी पुलमाथि गुडिरहेछु। तराई र पहाड छुट्ट्याउने यो पुलले एक वर्ष बिछोडिएको पहाडीपन र पहाडी मन गर्लम्मै काखमा पोखिदियो।  पहाडमा प्रवेश ग¥यौँ भन्दा पनि आफ्नै घर पसेजस्तो भान भइरहेछ। परदेशबाट फर्किनेहरूले भनेको सुनिन्छ,  काठमाडौँको एअर पोर्टमा पाइला राखेपछि थिचो मिचोमा पार्ने परदेशको साहु मात्र हैन त्यही देश उर्लन खोजे पनि लड्न सक्छु भन्ने आँट आउँछ रे! मलाई त्यस्तै लागिरह्यो। पैसाले उठाउने र पैसाले सुताउने सहर वाट केही दिनको लागि छुटेको छु। अब यही पहाडका कुना कन्दराबाट म छाक गुजार्न सक्छु। वाह! मेरो पहाड। वाह! जीवन।

गोदावरी पुल कटेपछि  अर्को घुम जङ्गलमा हुँदै गुडिरहेको छु। जङ्गल र रातको समय निश्च्यम्म अँध्यारो भैसकेको थियो। रात सुनसान हुँदै थियो। जङ्गली जनावरहरू पक्षीहरू आआफ्ना बासमा फर्के होलान्। त्यसरी नै म पनि बाआमाको काखमा फर्किँदै छु। आफ्नै बसेरामा बास बस्न फर्किँदै छु।

“आम्मामा कत्ति चिसो पानी हो फुपू!"

खान डाँडाको  चिसो पानी मुटु नै काँप्ने थियो। पानी पिउँदै कोपिलाले भनी। हामी ९ः१३ मा त्यहाँ पुग्यौ। राति पनि हरिया काँक्रा राता काँक्रा छन्। त्यति राती पनि टिन पसले भने ग्राहकको लाइनमा छन्। यात्रु आउने बस देख्ने बित्तिकै उनीहरूको चिच्याहट सुरु हुन्थ्यो। काठमाडौँ कलङ्कीमा जस्तो गाडी भित्रै पसेर हैकम चैँ चलाउँदैनन्।

रात शून्यतामा विलिन् छ केवल हाइस गुडेको आवाज र आफूले फेरेको स्वाएको आवाज छ। निरन्तरको यात्रापछि सहजपुर आइपुगेँ। यहाँको फल्टुडेका फलफूलले झन् मन नै आतङ्कित बनाउँछ। डोटीको बोडरका बदामको कसले बयान गर्न सकोस् । भात काँडाको भात कसलाई मन नपर्ला। मध्यरातको १२ः५२ हुँदा पनि भात खान माहिर छन्। खासमा हामीमा के छाप बसाएको छ भन्ने कुरा महत्त्वपूर्ण रहेछ। फुलटुडे र भात काँडाको फलफूल र भात राम्रो र मीठो हुन्छ भनेर हामी सुन्यौँ सुन्दै हुर्कियौँ। कति कुराहरू स्वाद र रोजाइबिना नै अरूले मन पराएकै भरमा मन परिदिन्छ। जब मन पर्न थाल्छ मन परेको चीजमा गल्ती वा नराम्रो देखिन्न।

शून्यता चिर्न उठे चरीहरू बिहानी भयो भन्ने सङ्केत लिएर।  चिरबिर चिरबिर आवाजले उठाए गाउँवस्ती। लामो यात्राको थकानले बिहानीपख नीद पनि झप्प लागेछ। ब्युँझाए। अहो!  मनमा क्या समीपयता छायो। अब केही समय यिनै चरीहरू मेरा सारथि हुनेछन्।

सूर्यले धर्तीमा राज गरिसकेछ। बिहान चर्किँदै जाँदा “दिपायलको गर्मी“ उर्फ! “गैराको गोरस“, “सिलगढीको न्यानोपन“, “साँझ घाटको स्याउ“, “साना गाउँका साना–साना माटाका घर“, “चौखुट्टेको चामल“, “मार्गुको माया“ हुँदै बल्लतल्ल टेकियो ११ः ३० बजे मार्तडीमा आइपुग्यौँ। अझै गाउँ जानका लागि बाँकी अब पैदल यात्रा गर्नु त छँदै छ।

करिब ४५ घण्टाको निरन्तर गाडीको यात्रापछि मार्तडीमा छु। अझै घर पुग्नका लागि पैदल हिँड्नु छ। त्योभन्दा पहिले बजार मार्तडी बजारमै खानपिन खाएर, एक छिन् आराम गरेर, दिउँसो हिँडेर गाउँ जाने हो। गाउँ अबको करिब १/२ घण्टा हिँडेपछि मात्र पुगिन्छ। अहो! लगातार तीन दिनको यात्रा गरेर मात्रै पुग्ने भएँ घर।

एउटै सिट नम्बर देखाएर फरक फरक व्यक्तिलाई सिट बाँडिने यो झमेलामा कति असहाय आमाबुवालाई कठिन भयो होला, यो क्षेत्रमा भएको लापार्वाहीरो अनुगमन मूल्याङ्कन व कारबाही गर्ने सरोकारवाला निकाय कता निदाएको होला।

राजमार्गका होटेलका लापरबाही मूल्यमा पैसा अपुग भएर कति पेटहरूले गन्तव्य चुमे होलान्? हामी त बिदा मान्न आएका छौँ, अपर्झटको काम, बिरामी लगायत अन्य चाँडो गर्नु पर्ने काम समयमा नभएर कतिले कति चीजबाट छुटिनु प¥यो होला, यो सडकको जाम कहिलेसम्म लागिरहने होला? राज्यको शासन व्यवस्था कमजोर हुनु गरिबभन्दा गरिब जनताले सास्ती पाउनु रहेछ।

लामै होस् यात्रा, गाडीबाट झर्ने बित्तिकै आँगनमा पाइला राख्ने दिनको पर्खाइमा छु। त्यो दिन आउँला पनि चाँडै।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार २ मंसीर २०७८ १३:११:४७ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105