आइएन्जिओकर्मी छविलाल कसरी भए प्रचण्ड ?
मंगलबार २० पुस २०७८ ०१:४३:५७ बजे

काठमाडौं । हालै सम्पन्न आठौं महाधिवेशनबाट प्रचण्ड फेरि सर्वसम्मत नेकपा माओवादी केन्द्रको अध्यक्ष भएका छन् । ललितपुरको एक रिसोर्टमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले ६७ वर्षे प्रचण्डलाई निर्विरोध अध्यक्ष घोषणा गरेको हो ।
नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा अध्यक्ष प्रस्तावित प्रचण्डलाई दीनानाथ शर्माले निर्विरोध निर्वाचित भएको घोषणा गरे । प्रचण्ड निर्विरोध अध्यक्ष बनिरहँदा माओवादी केन्द्रले आफ्नै विधानको भने परिपालना गरेन ।
माओवादीको पदाधिकारी चयन गर्ने अधिकार महाधिवेशन प्रतिनिधिबाट निर्वाचित केन्द्रीय सदस्यलाई छ । तर प्रचण्ड निर्विरोध अध्यक्ष भइसक्दा केन्द्रीय समितिले पूर्णता पाउनै बाँकी छ ।
११ पुसमा कम्युनिष्ट नेता माओको १२८औं जन्मोत्सव पारेर शुरू भएको महाधिवेशन समापन गर्दै आइतबार प्रचण्डले २३६ केन्द्रीय सदस्यको नामावली वाचन गरे । माओवादी केन्द्रको विधानले २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ ।
निवर्तमान स्थायी कमिटीका नेताहरुसँगको परामर्शमा प्रचण्डले घोषणा गरेको अपूर्ण केन्द्रीय सदस्यको नामावली महाधिवेशन हलबाट अनुमोदन भएको छ । प्रचण्डपथको आवाज उठाउनेहरुको यो कस्तो अभ्यास हो ? भनेर मान्छले खिसी गरिरहेका छन् ।
१० कक्षा पढ्दै गर्दा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखेका उनी २०३८ देखि २०६३ सम्म भूमिगत भए। यस क्रममा उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखे। तर अहिले उनी प्रचण्डमै गौरव गर्छन्।
तपाईलाई हाम्रो सिफारिस : प्रचण्डको एकछत्र राज कहिलेसम्म ?
छविलाल कसरी भए प्रचण्ड ?
प्रचण्डको जन्म विक्रम संवत २०११ साल मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस–२ लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठा छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिए । २०२६ मा चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर माध्यामि विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका प्रचण्ड २०२७–२०२९ सम्म पाटन बहुमुखी क्याम्पस पढे। त्यहाँबाट आईएससी पूरा गरेका उनले २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि बालीविज्ञानमा बीएससी गरी एमपीएसम्मको अध्ययन गरेका छन्।
२०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका प्रचण्डले २०२६ वैशाखमा सीता पौडेलससँग विवाह गरे । नारायणी विद्या मन्दिर मावि (२०२९), डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट, गोरखा (२०३३–०३५)मा शिक्षक रहे । उनले २०३२ सालमा यूएसएडमा समेत काम गरे।
२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । २०३४ सालमा उनी चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्य बने। २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्ष भए ।
२०४१ सालमा नेकपा (मसालं)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री बने।
२०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि चलेको सशस्त्र विद्रोह गरे । जसलाई उनले जनयुद्ध भने । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी नेकपा माओवादीको अध्यक्ष भए । र, अहिलेसम्म अध्यक्ष छन् ।
तपाईलाई हाम्रो सिफारिस : देश र जनताको आवश्यकताले फेरि अध्यक्ष भएँ – प्रचण्ड
त्यसपछि २०६५ साउनमा प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने। २०६९ सालमा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष पनि भए। २०६९ सालमा हेटौंडामा सम्पन्न नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्ष चयन भए। २०७० सालमा विराटनगरमा भएको एकता महाधिवेशनबाट उनी पुनःअध्यक्ष बने। त्यसैगरी उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको अवधारणा अघि सारेर त्यो समितिको संयोजक समेत भए ।
प्रचण्डले नेपाली क्रान्तिका समस्या(भाग–१, २ र ३), संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरू लगायत पुस्तक लेखेका छन्। चुनावको कुरा गर्दाः २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट संविधान सभा सदस्य जिते । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सिराहा ५ बाट सदस्य चुनिए।
तपाईलाई हाम्रो सिफारिस : महिला आयोगकी अध्यक्ष पराजुलीलाई नैतिक संकट, ओलीको समेत नाक काटिने खतरा
२०७३ साउन १९ गते व्यवस्थापिका संसदमा ३६३ बहुमत प्राप्त गरी प्रचण्ड नेपालको ३९औं प्रधानमन्त्री बने, दोस्रो पल्ट । २०७४ मंसिर २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ३ बाट ४८,२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । र, केपी ओलीले दुदुईपल्ट भङग गरेको प्रतिनिधि सभा सदस्य अहिले पनि छन् ।
प्रकाशित मिति: मंगलबार २० पुस २०७८ ०१:४३:५७ बजे