एमालेको बुद्धि पलायो, अरुको कहिले ?
शुक्रबार २३ पुस २०७८ ०३:५९:४० बजे

ढिलै भए पनि एमालेको वुद्धि पलाए छ । साँच्चिकै एमाले सुध्रिएको हो भने अबको निर्वाचनमा बाजी मार्ला पनि । प्रसंग हो, एमाले जिल्ला अधिवेशनको । केपी ओली नेतृत्वको एमाले पार्टीले देशभर जिल्ला अधिवेशन गर्दैछ । सबै भन्दा पहिले शुभकामना । साथमा जुन हिसाबले बिहीबार पत्रकार सम्मेलनमा एमाले काठमाडौंका अध्यक्ष कृष्ण राईले आर्थिक व्यवस्थापनबारे लामो सम्बोधन गरे । त्यो साँचो हो भने एमाले सुध्रिएकै भन्नु पर्छ ।
तपाईलाई हाम्रो सिफारिस : एमाले काठमाडौंको नेतृत्व चयन सर्वसहमतिबाटै
एमालेको १०औँ केन्द्रीय महाधिवेशन चितवनमा हुँदा धेरै तडक भडक देखियो र चितवनका एउटा पनि लज खाली रहेनन् । र, हुँदा–हुँदा कार्यकर्तालाई सडकमा छोडेर नेताले ठूला लजमा मेजमान लिए भन्नेसम्मका समाचार आएकै हुन् । तर, राईले आफ्नो सम्बोधन दौरान केन्द्रीय कमिटीले अह्राए बमोजिम हामीले कुनै व्यापारी तथा व्यजसायीलाई चन्दाको दुःख नदिई कार्यकर्ता तहबाटै अधिवेशन गर्न लागेको भनेको कुरा साँचो ठहरियोस् । जिल्ला अधिवेशनसम्म यो बोलम्, भोलि देखा जाएगा भन्ने मनसाय हो भने, त्यो गलत । त्यो फगत गफ मात्रै हुनेछ । र, हावादारी सिवाय केही हुने छैन । यदि व्यवसायीबाट आर्थिक सहयोग मागिएको होइन भने त्यसले भोलिको आम निर्वाचन मात्र नभई देशको कर्मचारीतन्त्रमा पनि प्रभाव राख्ने छ । कारणः अहिले देश भ्रष्टाचारले थिलथिलो भएको छ । यसरी देशको बागडोर सम्हाल्ने राजनीतिक दल आफै सुध्रिएर जानु आम जनताका लागि खुसीकै कुरा हो ।
तपाईलाई हाम्रो सिफारिस : एमालेको जिल्ला अधिवेशन देशभर एकैसाथ
अर्कोतिर राईले लोकतान्त्रिक मूल्यमान्यता समेतलाई ध्यान दिएर सर्वसहमतिमा नेतृत्व चयन गर्ने कुरा गरेका छन् । लोकतन्त्रको सुन्दरता नै त्यसैमा छ, जहाँ विना कचिङ्गल देशको मूल प्रवाह तथा जनभावनाको कदर हुन्छ भने त्यो भन्दा राम्रो के हुनसक्छ ? सर्वसहमति भनेर व्यक्ति प्रधानतालाई अघि बढाउन खोजिएको हो भने त्यो पनि गलत ! यदि संस्था वा संगठनलाई राम्रो र चुस्त बनाउन खोजिएको हो भने, अति उत्तम । पार्टीभित्रका आमभावना र आन्तरिक समस्यालाई सहमतिबाटै समेट्न सकिन्छ भने मतदानमै जानुपर्छ भन्ने नै छैन । यदि आफ्ना स्वार्थका लागि पार्टीमा आजिवन लागेका तथा त्याग गरेकाहरुलाई बलि चढाउने सर्वसहमतिको नाटक रचिएको हो भने त्यो टिक्दैन । त्यो आन्तरिक वा वाह्यरुपमा पाचन हुन सक्दैन । त्यसैले आफुले बोलेका कुरालाई दश पल्ट होइन सय पल्ट सम्झिन सुझाव दिन्छौँ, हामी ।
प्रकाशित मिति: शुक्रबार २३ पुस २०७८ ०३:५९:४० बजे