कसले सुन्ने सामूहिक बलात्कारको चित्कार ?
बुधबार १४ पुस २०७८ ०५:५९:३३ बजे

सुर्खेतबाट काम खोज्दै काठमाडौं आइपुगेकी एक महिला नयाँ बसपार्कमा सामूहिक बलात्कारको सिकार भइन् । त्यो पनि दुई दिनसम्म विभिन्न गेष्टहाउसमा लगेर । सुन्दै लाजमर्दो कुरा हो, नेपाल र नेपाली समाजका लागि याे । हामी धर्म, संस्कार र सामाजिक सद्भावको फुईँ लगाउँछौँ । तर, हाम्रो समाज अपराधको जर्जरतातिर हेलिइरहेको छ । चिन्ता कसले गर्ने ? जघन्य अपराधका श्रृंखला रोक्ने जिम्मा कसले लिने ? राज्य छ कि छैन ? सरकार कहाँ छ ? यो प्रतिनिधि घटनाले एक पल्ट फेरि नेपाली समाजलाई ठूलो झापड हानेको छ । हामी कहाँ छोरी, चेलीलाई ढोग्ने र पुज्ने संस्कृति एवं संस्कार छ । धर्म छ, परम्परा छ । के त्यो सबै नासियो अब ? कयौ प्रश्न जन्माइदिएको छ, गोंगबु सामूहिक बलात्कार घटनाले । कसले सुन्ने चेली बुहारीको चित्कार ?
तपाईलाई हाम्रो सिफारिस : एक महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ
प्रहरीका अनुसार उनको उमेर ३४ वर्ष छ । १२ गते बिहान काठमाडौं आइपुगेकी उनी मित्रनगरको गेष्ट हाउसमा बसेकी थिइन्। प्रहरी भन्छ–उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारको सिकार भइन् । १२ गते साँझदेखि १३ गते बिहानसम्म मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ भने एक आरोपी फरार छन् । बलात्कारमा संलग्नहरु वैदेशिक रोजगारीमा जाने तयारीमा थिए, भनिएको छ । यदि ति व्यक्तिहरु विदेश जाने तयारीमा थिए भने तिनले अर्काको मुलुक गएर के लछारपाटो लगाउने रहेछन् त ? आफ्नै छोरी, चेली अथवा बुहारीको अस्मिता लुट्ने ‘ज्यामाहदूतहरु’ले अर्काको मुलुकमा गएर परिवारको भविष्य बनाउथे होलान् ? त्यसै त भनिएको होइन रहेछ, ‘विनाशकाले विपरीत बुद्धि’ । मान्छेहरु किन यति विक्षिप्त भइरहेका छन् । अपराध किन बढिरहेको छ ? यसको पहिचान र नियन्त्रण कसले गर्ने हो ? कहिले सुन्न पाइन्छ ? यस्ता जघन्य अपराध कम भएको ? जवाफ पाम् गृहमन्त्री ज्यू ।
प्रकाशित मिति: बुधबार १४ पुस २०७८ ०५:५९:३३ बजे